सुपर ८ खेलमा अष्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित
आइसीसी टी २० को सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासिक जित दर्ता गराएको छ । आज विहान भएको खेलमा बलियो टोली अष्ट्रेलियामाथि अफगानिस्तानले २१ रनको जित हात पारेको हो । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको हो । अफगानिस्तानले दिएको १ सय ४९ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले १९ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय २७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए पनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन । अफगानिस्तानका गुलबदिन नाइबले ४ विकेट लिए । त्यस्तै नवीन उल हकले ३ विकेट लिए । त्यस्तै अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी र रासिद खानले १÷१ विकेट लिए । यसअघि अफगानिस्तानका लागि ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जदरानले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरे । गुरबाजले ४९ बलमा ६० रन बनाउँदा जदरानले ४८ बलमा ५१ रन बनाए । अस्ट्रेलियाका लागि प्याट कमिन्सले ३ विकेट लिए । त्यस्तै एडम जाम्पाले २ र मार्कस स्टोइनसले १ विकेट लिए । जितसँगै अफगानिस्तानले सेमिफाइनलमा पुग्ने आशा बढाएको छ । योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ । यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने । अफगानिस्तानले पर्सी बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया