बुटवलको डेल्टा कम्प्लेक्समा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार राति लागेको आगो करिब तीन घण्टापछि नियन्त्रणमा आएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको हो । साँझ करिब साढे ७ बजेदेखि कम्प्लेक्समा लागेको आगो निभाउन रुपन्देही र छिमेकी जिल्ला नवलपरासी पश्चिम सहितका १२ वटा दमकल प्रयोग गरिएको थियो । डेल्टा कम्प्लेसको चौथो तल्लाबाट आगो लाग्न सुरु भएको थियो । आगलागीबाट  कम्प्लेक्समा रहेका सबै पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री, विभिन्न विद्यालयका पाठ्यपुस्तक तथा किरानालगायत विभिन्न प्रकारका सामान बिक्री गर्ने पसल थिए । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ । आगलागीबाट सबै गरेर ४५ करोड बढीको नोक्सानी हुन गएको डेल्टा कमप्लेक्सका सञ्चालकको दाबी छ ।। 

प्रतिक्रिया