कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन पुल बाढीले बगायो
उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देवीस्थान र फलेवास नगरपालिका– १० कुर्घाबिचमा रहेको लमाए खोलामा निर्माणाधीन पुल बुधबार राति बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्लाब ढलानको तयारीमा रहेको पुलका सवै निर्माण सामाग्रीहरु बाढीले बगाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । २०७४ असारमा सम्झौता भइ २०७५ पुसदेखि निर्माणकार्य सुरु भएको थियो । तर अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पाँच करोड ८९ लाख ८९ हजार रुपैयाको लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले शुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाउने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए ।
स्थानीयको आवाजलाई बेवास्ता गर्दैै निर्माण गरिएको पुल निर्माणाधीन अवस्थामै बाढीले बगाएर क्षति पु¥याएको हो ।
प्रतिक्रिया