आजदेखि मेलम्चीको खानेपानी काठमाडौँमा वितरण नहुने

बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार बन्द

आजदेखि मेलम्चीको खानेपानी काठमाडौँमा वितरण नहुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै आजदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरेको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको समितिले जनाएको हो । योसँगै उपत्यकावासी आजदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न नपाउने भएएका छन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको हो । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने बताइएको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।

प्रतिक्रिया