संसद् सचिवालयका कर्मचारीहरूको 'ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित

संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए ।  कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेका सांसदहरूलाई प्रत्यक्ष प्रशारणमा नदेखाइएकोले ब्ल्याक आउट गरेर बैठक सञ्चालन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए। त्यसको केहीबेरमा सभामुख घिमिरेले असार ६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

मंगलबारको बैठकमा पनि झण्डै १२ मिनेट बोल्ने सांसदलाई नदेखाई सभाामुख घिमिरेलाई मात्र देखाइएको थियो।

संसदका कर्मचारीहरूले अतिरिक्त समय काम गरेको सेवा सुविधा नपाउने हो भने कार्यालय समयभन्दा बाहेक काम गर्न नसकिने अडान लिँदै आएका छन्। कर्मचारीका मागबारे सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका प्रमुख सचेतकलगायत सँग छलफल गरेका थिए।


उनीहरूले अर्थमन्त्री वर्षमान पुनसँग कर्मचारीका माग सम्बोधनका लागि पहल गर्ने निष्कर्ष निकालेका थिए। कर्मचारीहरूले माग पूरा नभएको भन्दै धर्नालगायत आन्दोलनलाई जारी राख्दा प्रतिनिधि सभा बैठक नै प्रभावित बन्न पुगेको हो। 

प्रतिक्रिया