मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेटको मुख्य मान्यतामा नै त्रुटि भएको बताए ।

उनले  मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने विषयले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । यो शक्ति र सत्ताको दुरुपयोग भएको उनको भनाइ छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनः लेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निष्कर्षमा कांग्रेस पुग्ने बताए । 

प्रतिक्रिया