राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसद्लाई जानकारी गराउन सांसद पौडेलको माग

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको केही दिनअघि सम्पन्न भारतबारे संसद्लाई जानकारी नगराएकोमा आपत्ति जनाएका हुन् । 

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे संसद्लाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराए ।  उनले भने, ‘अहिले सम्माननीय राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ । केही समय अगाडि सम्माननीय प्रधानमन्त्रीज्यू भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो । उहाँ फर्केपछि संसद्को बैठक ६ पटक बसिसक्यो । तर यी दुवै भ्रमणको बारेमा औपचारिक रूपमा संसद्लाई जानकारी गराइएको छैन । राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणको बारेमा संसद्लाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् । म ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद पौडेलले वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई घरघर राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको माग जायज रहेको उल्लेख गर्दै तत्काल उनीहरूको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए ।

प्रतिक्रिया