मनसुन पूर्वी भुभाग हुँदै नेपाल भित्रियो

यो वर्षको मनसुन पूर्वी भुभाग हुँदै  नेपाल प्रवेश गरेको छ । सरदर मितिभन्दा तीन दिन अगाडि नै सोमबारबाट मनसुन नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । अहिले कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन क्रमिक रूपमा देशका अन्य भेगमा फैलिँदै जाने बताइएको छ । कोसी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने विभागको अनुमान छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने भएपनि यो बर्ष तीन दिनअघि नै मनसुन भित्रिएको हो । यो बर्ष मनसुनमा सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको अनुमान छ । मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्दछ  । 

प्रतिक्रिया