एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएकाले दुई साताभित्र नतिजा आउने भएको हो । प्राविधिक त्रुटि नदेखिए केही दिनअगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको बोर्डको भनाइ छ । बोर्डले यो बर्ष ५२ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जनाएको छ । गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नजिता सार्वजनिक हुँदैछ । यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा ‘फेल’ भएसरह मानिने छ । गत चैत १५ गतेदेखि सुरु भएको यो वर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् । 
 

प्रतिक्रिया