पश्चिम रुकुमको मुसिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट– १ खलङ्गाबाट बाँफिकोट गाउँपालिका– ४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको हो । जीप सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका– ५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको हो । घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो । यसैगरी दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका– ५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेका छन । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ । 

प्रतिक्रिया