धनगढीमा आज ’श्रमाधान रोजगार मेला’ शुरु हुँदै

रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको धनगढीमा आज ’श्रमाधान रोजगार मेला’ शुरु हुँदैछ ।  दुई दिन मेला चल्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको संयुक्त आयोजनामा मेला हुन लागेको हो । उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उदघाटन गर्ने तयारी छ । मेलाले रोजगारीका अवसर सृजना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्ने विश्वास छ । श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिम्खडाले धनगढीमा हुन लागेको मेलामा ३५ नीजि क्षेत्रका स्टल रहेका छन ।  सरकारले गत जेठ  १७ गतेदेखि सातै प्रदेशमा मेला आयोजना गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीमा मेला भैसकेको छ ।

प्रतिक्रिया