दश वर्षमा ३० खर्बको आइटी निर्यात, १५ लाख रोजगारी सिर्जना: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बेस र आइटीलाई लिडिङ रोल दिएर विकासलाई गति दिन लागेको बताएका हुन । उनले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रममा बजेटमार्फत सूचना र प्रविधिलाई मुख्य प्राथमिक क्षेत्रका रुपमा लिँदै डिजिटल इकोनोमि, स्टार्टअप र इनोभेसनको प्रवद्र्धनमा लाखौँको संख्यामा रोजगारी सिर्जना, डिजिटल गभर्नेन्सको सुधारमार्फत देश रुपान्तरणको लक्ष्य अघि सारिएको दाबी गरे । 
प्रधानमन्त्री दाहालले नेपाललाई सूचना र प्रविधिको हबका रुपमा विकास गर्न सूचना पविधि दशकको घोषणा गरिएको उल्लेख गरे । सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रको रुपमा स्थापित गर्ने, सूचना, प्रविधिका नविनतम प्रविधि अवलम्वन गर्न कानूनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवद्र्धन र नियमनको नीतिगत व्यवस्था तथा सेन्ट्रल बैंक डिजिटल करेन्सीको सम्भावना र विकास लगायतका विषयलाई राज्यले नीति, कार्यक्रम र बजेटमार्फत अघि सारेको उनको भनाइ छ ।  सूचना तथा प्रविधिमाथि आम मानिसको पहुँच भएमात्रै यसबाट प्राप्त हुने लाभमा जनताको पहुँच सुनिश्चित हुनसक्ने प्रधानमन्त्री दाहालले बताए । प्रधानमन्त्री दाहालले सूचना र प्रविधि क्षेत्रका अवसर र चुनौतिको गम्भीरतालाई आत्मसाथ गर्दै सरकारले सूचना तथा सञ्चार प्रविधिलाई सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धि हाँसिल गर्ने मुख्य क्षेत्रको रुपमा अंगिकार गरेकोपनि जानकारी दिए ।। 
 

प्रतिक्रिया