विश्वकप छनोट खेलमा नेपाल यूएईसँग ४ – शून्यले पराजित

फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ । साउदी अरेबियाको दम्मानमा रहेको प्रिन्स मोहम्मद विन फहद स्टेडियमा गएराति भएको खेलमा यूएईले नेपालविरुद्ध दुवै हाफमा २–२ गोल गरेको हो । यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक,एक गोल गरे । नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको छ । यसअघि यूएई विरुद्ध अवे मैदानमा भएको खेलमा पनि नेपाल ४–० गोलले नै पराजित भएको थियो । जितसँगै यूएईले १५ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँचवटै खेलमा पराजित भएको नेपाल भने अङ्क विहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ । 
 

प्रतिक्रिया