बालेन शैली समर्थन गरेर कांग्रेसले गणेशमान, गिरिजा र कृष्णप्रसादको अपमान गर्‍यो : महेश बर्तौला

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको शैलीलाई समर्थन गरेर कांग्रेसले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथि अपमान गरेको टिप्पणी गरेका छन् । बिहीवार संसद भवनबाहिर पत्रकारसँग कुरा गर्दै उनले काठमाडौँ महानगरका प्रमुख शाहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको बताए।

बालेनले सामाजिक सञ्जालमा विभिन्न स्टाटसहरू लेखेर समाजलाई नकारात्मक पथमा हिँडाउने काम गरिरहेको उनले बताए ।

"शीर्षस्थ नेताहरू, जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरूले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रस्तुति मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली कांग्रेसका महामन्त्रीज्यूले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो । यो व्यवस्था ल्याउनका लागि लडेका सबैको लागि अपमान हो," उनले भने ।
उनले देश, लोकतन्त्रका लागि लडेको नेताहरूको बारेमा मेयर बालेनको टिप्पणी तल्लोस्तरको रहेको बताए ।

प्रतिक्रिया