टी–ट्वान्टीमा ओमानलाई हराउदै अष्ट्रेलियाको विजयी सुरुआत
युगाण्डासँग पपुवा न्यूगिनी तीन विकेटले पराजित
अस्ट्रेलियाले आइसिसी ट्वान्टी–२० विश्वकपमा सुखद सुरुआत गरेको छ । बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा आज अस्ट्रेलियाले ओमानविरुद्ध ३९ रनको जित निकालेको हो । अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य प्छयाएको ओमानले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२५ रनमा समेटियो । ओमानका लागि आयन खानले ३६, मेहरान खानले २७, कप्तान अकिब इल्यासले १८ र शकिल अहमदले ११ रन बनाए । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्च र एडम जाम्पाले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३७ बलमा ६ छक्का र दुई चौकाको मद्दतले अविजित ६७ रनको योगदान गरे । यसैगरी डेविड वार्नरले ५१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५६, कप्तान मिचेल मार्शले १४ र ट्रभिस हेडले १२ रन बनाए । ओमानका लागि मेहरन खानले दुई तथा कलीमुल्लाह र बिलाल खानले समान एक विकेट लिए । जितसँगै समूह ‘बी’ को अस्ट्रेलियाले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित ओमान अंकविहिन छ । ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो ।।
युगाण्डको जित
आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ’सी’ को खेलमा युगाण्डाले पपुवा न्यूगिनी पीएनजी लाई तीन विकेटले हराएको छ । पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८ ओभर दुई बलमा सात विकेट गुमाएर भेट्टाएको हो । युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । पीएनजीका लागि अले नाओले दुई विकेट लिए । यस्तै नर्मन भानुआ, चाड सोपर र असद वालाले समान एक विकेट लिए । यसअघि अमेरिकाको प्रोभिडेन्स क्रिकेट मैदानमा पपुवा न्यूगिनी १९ ओभर एक बलमा ७७ रनमा अल आउट भएको थियो । उसका लागि हिरि हिरिले १५ रन बनाए । यस्तै लेगा सियाका र किप्लिन डोरिगाले समान १२ रन बाहेक अन्य व्याटरले दोहोर अंक जोड्न सकेनन् । यो जितसँगै युगाण्डाले समूह तालिकामा दुई अंक जोडेको छ ।।
प्रतिक्रिया