सरकारी कोष परिचालन गर्न सके मनसुनजन्य विपदमा राम्रो काम गर्न सकिन्छ: गृहमन्त्री

कोषमा छ अर्ब अठहत्तर करोड मौज्दात

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्युनिकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन । आज प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन । गृहमन्त्री लामिछानेले पोष्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरु गर्ने बताए । 
गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि जानकारी दिए । सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महशुस हुनेगरी गर्न सकिने लामिछानेको भनाइ छ । 
नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति पनि विपद्का लागि तयारी अवस्थामा राखिएको पनि उनले बताए । त्यस्तै, ७३ हजार ६७० क्वीन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको पनि उनले जानकारी दिए । मन्त्री लामिछानेले राहत सामग्रीको वितरण एकद्वार प्रणालीबाट गरिने भन्दै छिटोछरितो गरिने पनि बताए । 
 

प्रतिक्रिया