जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गरेका छन । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिब्र रुपमा हिमश्रृंखलाहरु र हिमतालहरुमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरु बढेको बताएका हुन । विपद्का कारण तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आधारभुत जीवनयापनका चुनौतिहरु थपिएको राष्ट्रपति पौडेलको भनाइ छ ।  
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भुमरीमा फसेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि अब ढिला गर्ने समय नरहेको पनि स्पष्ट पारे । नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्युन गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशिलता हाँसिल गर्न सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । उनले उच्च श्रृंखला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया