प्रतिपक्ष दलका नेतासँगको भेटमा आत्तिनुपर्ने अवस्था छैन: माधव नेपाल

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिपक्ष दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा सामान्य भएको बताए।  

‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्,’ उनले भने, ‘हामी पनि पाउँछौँ। अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।’

भेटपछि असमझदारी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत छलफल गरेको अध्यक्ष नेपालले बताए। विपक्षी दलका नेतासँगको भेटवार्ताबारे प्रधानमन्त्री दाहाल पनि सकारात्मक नै रहेको नेता नेपालको दाबी छ ।

‘मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर प्रधानमन्त्रीलाई फोन पनि गरेँ। उहाँले भन्नुभयो, ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला। कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ,’ उनले भने।
नेपालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाससहित प्रतिपक्ष दलका नेताहरुको बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रिया