देशमा महँगी, भ्रष्टाचार र विदेश पलायनको विकराल अवस्था छ: झलनाथ खनाल

सहमतिबाट नेतृत्व चयन हुने खनालको विश्वास

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने बताएका छन् ।आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको बताएका हुन् । 

उनले महाधिवेशनले दस्ताबेज पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए। उनले महाधिवेशन रूपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाउने पनि बताए।

उनले अहिले देशमा महँगी, भ्रष्टाचार र युवाहरू विदेश पलायनको विकराल अवस्था रहेको बताए। उनले पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रूपान्तरण गर्ने बिन्दुसम्मका कार्यक्रमहरू महाधिवेशनबाट पारित गर्ने बताए।

उनले भने, ‘अहिले महँगी बढिरहेको छ। भ्रष्टाचार व्याप्त छ। युवाहरू विदेश जान विवश छन्। यी ठाउँबाट, भ्रष्टाचार र अहिलेका समस्या ज्वलन्त जुन छन्, ती जनताका मागलाई लिएर यहाँबाट शुरु गर्दै हामी आमूल परिवर्तन गर्नेछौँ। महाधिवेशनले दस्ताबेज पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं। यो महाधिवेशन रूपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाउनेछौँ।’
 
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा चारवटा दस्ताबेजहरू पेश गरेर पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन हुँदैछ ।संभवत नेतृत्वका लागि वर्तमान अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच प्रतिस्पर्धा हुने राजनीतिक अनुमान छ   ।

प्रतिक्रिया