टी–२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात
घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२–२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुँदा अमेरिका ६.३ ओभरमा ४२–२ को अवस्थामा थियो । क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुआत गर्नेछ ।
प्रतिक्रिया