नारायणहिटी दरबार हत्याकाण्ड भएको आज तेइस वर्ष पूरा, राजा वीरेन्द्र शाहको वंशनाश भने अझै रहस्यमा

काठमाडौ । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्गविक्रम पनि मारिएका थिए । हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायकोरु संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । ‘आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ छानविनको निस्कर्ष थियो । तर प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय मानिन्छ । दरबार हत्याकाण्डपछि २०६२÷६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोसिएका थिए । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भएको थियो । अहिलेपनि केही दल र समूहले राजसंस्था पुर्नस्थापनाको माग भने गर्दै आएका छन ।

प्रतिक्रिया