सोरू गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्लसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नं.७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा अनियमितता गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ । मल्लसहित वडा नं.७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमी, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा र अनुगमन समिति संयोजक दलवीर सार्कीलाई प्रतिवादी बनाएको छ । उनीहरूविरूद्ध कैद र जरिवाना माग गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया