पश्चिम तराईमा अत्यधिक गर्मीको कहर, जनजीवन नराम्ररी प्रभावित

अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । बिहानदेखि लाग्ने चर्को घामले सडकमा आवतजावत निक्कै पातलो छ । उखरमाउलो गर्मीले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । अस्पतालमा बिरामीको संख्या बढिरहेको छ । देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित बाँकेको नेपालगन्जमा केही दिनयता यसवर्षकै गर्मीले जनजीवन प्रभावित भएको छ । बाँकेको तापक्रम ४४ डिग्री सेल्सियस नाघेसँगै लू चल्दा मजदुर, रिक्साचालक र खुला ठाउँमा काम गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । उता, सुदूरपश्चिमको धनगढीमा बिहीबार २९ वर्षपछिकै उच्च भएको तापक्रम मापन भएको छ । दिउँसो पौने तीन बजे ४४ दशमलब १ डिग्री सेल्सियस मापन भएको हो । अत्यधिक गर्मीसँगै तातो हावा चल्दा दैनिक ज्याला मजदुरी गरेर खर्च जुटाउने कामदारको दैनिकी प्रभावित भएको छ ।  कडा घामसँगै तातो हावा चल्दा हिँडडुल गर्न निक्कै सास्ती भएको छ । सोमबारबाट सदरमुकाम कपिलवस्तु सदरमुकाम तौलिहवाको अधिकतम तापक्रम ४१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । गर्मी बढेपछि स्थानीय तहमा विद्यालय शुक्रबारसम्मका बन्द गरिएको छ । गर्मीले बाहिर निस्कने अवस्था नहुँदा ज्याला मजदुरी गर्नेहरु बढी मारमा छन् । गर्मीले सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ भने अस्पतालहरुमा बिरामी बढेका छन् । गर्मी बढेकै कारण विभिन्न खालका समस्या लिएर अस्पताल पुग्ने विरामी पनि बढेका छन । ज्वरो, रुघाखोकी, आउँ, टाइफाइड, झाडापखाला र छाला रोगका बिरामी बढेका हुन । बिहीबार धनगढीसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १२ वटा मापन केन्द्रमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी दरको अधिकतम तापक्रम मापन भएको थियोरु। ४० डिग्रीभन्दा माथिको तापक्रमले खतराको संकेत गर्ने मौसमविद् बताउछन। 
 

प्रतिक्रिया