आज विश्व सूर्तीजन्य पदार्थरहित दिवस
विश्व सूर्तीजन्य पदार्थरहित दिवस आज नेपालमा पनि सचेतनामुलक कार्यक्रमका साथ मनाइदैछ । हरेक बर्ष मे ३१ मा यो दिवस मनाउने गरिन्छ । यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग र मधुमेह जस्ता नसर्ने रोगहरु निम्त्याउने गरेको बताउँदै उनले विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको जानकारी दिए । जसमध्ये प्रत्यक्ष सेवनकर्ता ७० लाख र अन्य व्यक्तिहरुले गरेका धूमपानका कारण १२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धूमपान गर्दा आफ्नो स्वास्थ्यमा मात्रै नभइ नजिकमा रहेका अन्य व्यक्तिहरुको स्वास्थ्यमा पनि उत्तिकै असर पुग्छ । सुर्तीजन्य पदार्थको असरहरुलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन, नियमावली र निर्देशिका पारित भइ लागु भइसकेको छ । नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र संकेत चिह्न अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सार्वजनिक स्थलमा धूमपान निषेध गरिएको छ र सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन निषेध गरिएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य हुने गरेको सरकारी तथ्यांक छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गरेको छ भने १० जनामध्ये एक जना वृद्धको अकालमा चुरोट सेवनका कारणले मृत्यु हुने गर्दछ । नेपालमा ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा जम्मा हुने गरेको छ।
प्रतिक्रिया