सरकारले ल्याएको बजेट यथार्थपरक र संयमितः निजी क्षेत्र

निजी क्षेत्रले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट यथार्थपरक र संयमित भएको प्रतिक्रिया दिएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै निजी क्षेत्रका तीन छाता संगठनले यस्तो प्रतिक्रिया दिएका हुन् । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटले काटिएको भन्दै पहिलेका बजेटले दिएको सुविधा अहिलेको बजेटले काट्दा लगानी पनि बिच्किने अवस्था आउनसक्ने बताए । 
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न र ५.५ प्रतिशतको मुद्रास्फिती कायम राख्ने गरी आगामी मौद्रिक नीति खुकुलो एवं बिस्तारकारी हुनुपर्नेमा जोड दिए । 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताए । भुतप्रभावि करको नीतिले  व्यवसायी आतंकित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने उनको भनाइ छ । 
बजेटमा सम्बोधन भएका निजी क्षेत्रका मागको सफल कार्यान्वयन जरुरी रहेको नीजि क्षेत्रको भनाइ छ । व्यवसायीहरुले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउने र आशा जगाउने बजेटमा उल्लेख गरेर पनि व्यवहारमा लागू गर्न जरुरी रहेकोपनि औल्याएका छन ।

प्रतिक्रिया