श्रम सीप र अनुभवको उपयोगबाट उद्यमशिलता विकास गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताएका छन् । श्रमाधान रोजगार मेलालाई आज विराटनगरमा  सम्बोधन गर्दै उनले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमता अनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका हुन । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँने पनि बताए ।
प्रधानमन्त्री दाहालले एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको जानकारी पनि दिए । प्रधानमन्त्री दाहालले रेमिटेन्सबाट अर्थतन्त्रको उत्पादनशिलता बृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको समेत उनले बताए । सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि वृद्धि गर्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड छ । रोजगारीको सिर्जना र मर्यादित श्रम क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यकता पनि उनले औल्याए । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना थालेको हो । हरेक प्रदेशमा दुई÷दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा सुरु भएर बागमतीमा आएर सकिने छ । मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने बताइएको छ ।।

प्रतिक्रिया