बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ : राजदूत छन
नेपालका लागि चिनियाँ राजदूत छन् सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन् । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताएका हुन । नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उनले बताए । पहिरो खसेको स्थान तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी राजदूत छनले दिए । चीनबाट अत्याधुनिक उपकरण ल्याएर निर्माणमा सघाउने पनि चीनले प्रतिबद्धता जनाएको छ । सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटाले सडक स्तरोन्नतिका लागि एक अर्ब २० करोड विनियोजन गरेको जानकारी दिँदै दुवै देशले मिलेर काम गर्न प्रस्ताव गरे । विसं २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका २०८० भदौ १५ गतेदेखि खुलेको हो । सो नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग पटकपटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन ।
प्रतिक्रिया