भीमफेदी कार दुर्घटनामा मृत्यु हुने संख्या तीन पुग्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार अपराह्न भएको कार दुर्घटनामा मृत्यु हुने तीन पुगेका छन् । अन्य दुईजना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको हो । दुर्घटनामा कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया