हिमाल सफाइ अभियानमा ४ मानव शव सहित ११ टन फोहर संकलन

नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले जेठ १६ गतेसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ । जेठ १६ गते मात्रै दुई वटा शव निकालेर काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको सेनाले जनाएको छ । सगरमाथा हिमालको बाल्कोनी ईलाका र ल्होत्से क्याम्प–४ ईलाकामा रहेको दुईवटा शव फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको हो । गत चैत्र २९ गतेबाट सुरु भएको अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलोग्राम फोहर, चारवटा मानव शव तथा केही मानव अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ । विश्व वातावरण दिवसमा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहर हटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।। 
 

प्रतिक्रिया