भारतमा अहिलेसम्मकै उच्च गर्मी मापन, सरकारद्वारा लू को चेतावनी जारी
भारतमा बुधबार दिउँसो अहिलेसम्मकै बढी गर्मी मापन गरिएको छ । भारतको राजधानी दिल्लीको मुंगेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै मापन गरिएको छ । स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२.३ डिग्री सेल्सियस रेकर्ड गरिएको हो । वर्ष २००२ मा भारतमा सबैभन्दा बढी ४९ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । भारत मौसम विज्ञान विभागले आज दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर लू को चेतावनी जारी गरेको छ । पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा गर्मीको लहरदेखि गम्भीर गर्मीको लहर अवस्थाको सम्भावना छ । आजपनि हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढका विभिन्न भागमा लू चल्ने सम्भावना छ । राजस्थानको मरुभूमि क्षेत्रबाट आएको तातो हावाका कारण दिल्लीको बाहिरी क्षेत्रमा गर्मी चरम अवस्थामा पुगेको हो । मौसम विभागले दिल्लीका बासिन्दाहरूलाई अत्यधिक गर्मीका कारण जुनसुकै उमेर समूहका मानिसलाई पनि ‘हिटस्ट्रोक’ लगायत अन्य गर्मीजन्य समस्या हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ । गर्मी चरम भएसँगै राजधानी दिल्लीमा विद्युतको माग पनि अहिलेसम्मकै उच्च अर्थात् ८ हजार ३ सय २ मेगावाट पुगेको जनाइएको छ । भारतका अन्य क्षेत्रमा पनि चरम गर्मीको अनुभव गरिएको छ । मरुभुमीय राज्य राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस र हरियाणाको सिर्सामा ५० दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । हिटस्ट्रोक ‘उष्माघात’का कारण राजस्थानमा अहिलेसम्म कम्तीमा ६ जनाको मृत्यु भएको छ ।।
प्रतिक्रिया