गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुुनुवाइ स्थगित

गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो । रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको थियो । अधिवक्ता भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० रुऔँ नम्बरमा थियो ।सहकारी प्रकरणमा मुछिएको भन्दै लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो । रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ । रिटमा रविमाथि सहकारी ठगीमा कुनै अभियोग नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ । यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो । सोही आदेशबमोजिम सोमबार रिट दर्ता भएको थियो । लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने रिटमा जिकिर गरिएको छ । सहकारीमा भएको हिनामिनाबारे छानबिन गर्न मंगलबार संसदीय समिति समेत बनिसकेको छ । 
 

प्रतिक्रिया