१७ औँ गणतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १७ औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन् । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको खुसियालीमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको हो । दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिनेमा जोड दिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नुपर्ने जनाएका छन । 
 

प्रतिक्रिया