विश्वकपको अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित
बिहीबार अमेरिकासँग खेल्ने
नेपाल आईसीसी टी–२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३७ रन बनाए ।कुशल भुर्तेलले १०, अनिल साहले २४, आसिफ शेखलाई २२ रन जोडे । सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट भए । क्यानडाका जेरेमी गोर्डन र साद बिन जाफरले २–२ विकेट लिए । कलिम साना र परगत सिंहले १–१ विकेट लिए । त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकप २०२४ मा नेपाल समूह ’डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन ।सुरूमा २० टोलीलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको छ । चार समूहका शीर्ष २–२ टोली गरी कुल ८ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को दुई समूहका शीर्ष २–२ टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया