छात्रवृत्तिमा नाम काटिएका विद्यार्थीले पनि बंगलादेशमा पढ्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययन  सिफारिस गरेका सबै विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको जानकारी दिएकी छिन । आज सिंहदरबारमा संसदीय समितिको बैठकमा उनले सिफारिस गरिएपनि नाम काटिएको समस्या समाधान भएको बताएकी हुन । मन्त्री श्रेष्ठले बंगलादेशले दिने २२ जनाको कोटामा १० जनाको नाम नतिजामा नआएपछि मन्त्रालयले पहल गरेपछि आवेदन नभरेका दुई बाहेक २० जनाले पढ्न पाउने भएको जानकारी  दिइन । 
मन्त्री श्रेष्ठले एमबिबिएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरुको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात केही निर्णय गर्न सकिने बताइन । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र शिक्षा मन्त्रालयसँग सबन्धित विषयमा मन्त्री श्रेष्ठसँग छलफल गरेको हो । छलफलपछि समितिले एमबिबिएस दोस्रो सेमेस्टरमा फेला भएका विद्यार्थीले मौका परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ ।  
समितिले सोमवारदेखि नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु गरेको हो । समितिले चारवटा दफामा छलफल गरेको छ । दफावार छलफलको पहिलो दिन समितिले दफा १ को संक्षिप्त नाम र प्रारम्भ, दफा २ को परिभाषा, दफा ३ को विश्वविद्यालयको स्थापना र दफा ४ को विश्वविद्यालय स्वशासित र संगठित  संस्था हुने सम्बन्धमा छलफल भएको छ । राष्ट्रिय सभाबाट प्रतिवेदनसहित पारित भएर आएको सो विधेयकको सम्बन्धमा सांसदहरुले एकल र संयुक्त रुपमा १९ वटा संशोधनको प्रश्ताव दर्ता गरेका थिए ।। 
 

प्रतिक्रिया