काभ्रेको विकट महाभारत गाउँपालिकाको बेरुजु शून्य

आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा काभ्रेको विकट महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको हो । प्रतिवेदन अनुसार महाभारत गाउँपालिका पछि पनौती नगरपालिका कम बेरुजुमा परेको छ भने रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण गरेकोमा बेरुजु शून्य रहेको छ भने पनौती नगरपालिकाले २ अर्ब ६६ करोड ५९ लाख ९७ हजारको लेखापरीक्षण गरेकोमा ०.१६ प्रतिशत अर्थात ४२ लाख ४ हजार रुपैयाँ) बेरुजु रहेको छ । त्यस्तै कम बेरुजुमा तेस्रो रहेको रोशी गाउँपालिकाले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा ०.२२ प्रतिशत अर्थात ४० लाख ७७ हजार रुपैयाँ बेरुजु रहेको छ । स्थानीय तहहरूमा सबै भन्दा बढी बेरुजु भूम्लु गाउँपालिको रहेको छ । जसको आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २० करोड ६९ लाख ४ हजार रुपैयाँको लेखापरीक्षक गरेकोमा ४.२३ प्रतिशत अर्थात ५ करोड ९ लाख ९४ हजार बेरुजु रहेको छ । नमोबुद्ध नगरपालिकाको ५ करोड ११ लाख ६९ हजार, पाँचखाल नगरपालिकाको ३ करोड ६९ लाख ४३ हजार, चौरीदेउरालीको १ करोड ८२ लाख ७३ हजार, धुलिखेल नगरपालिकाको २ करोड ६६ लाख ८८ हजार, मण्डनदेउपुरको २ करोड ९ लाख ७३ हजार बेरुजु देखिएको छ ।  बेथानचोकको १ करोड ७१ लाख ८४ हजार, खानीखोलाको ७ लाख ८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।  बनेपा नगरपालिकाको २ करोड ४७ लाख २५ हजार  र तेमाल गाउँपालिकाको ८३ लाख ४५ हजार रुपैयाँ बेरुजु रहेको महालेखाले जनाएको छ । 
 

प्रतिक्रिया