समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ ।  नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै आज सञ्चारग्रामस्थित महासंघको केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो । गत जेठ ८ गतेको सहमति विपरित महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याएको संगठनको आरोप छ । 
समाजवादी प्रेस संगठन नेपालले सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिएको छ । समाजवादी प्रेस संगठनले महासंघले नेपाल पत्रकार महासंघका आवद्ध आफ्नो संगठनमा आवद्ध पत्रकारहरुको नामावली सदस्यता सूचिबाट हटाएको भन्दै आपत्ति जनाउँदै आएको छ । 
 

प्रतिक्रिया