ओलीलक्षित आरोपप्रति काँग्रेसले लिखित माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

कांग्रेसले एमालेलाई अनावश्यक आरोप लगाएको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरुलाई बालुवाटार बोलाएर गरेको छलफलमा पनि एमाले नेताहरुले यो विषय उठाएका थिए । कांग्रेस, एमाले, माओवादी र रास्वपा सहितको छलफलमा एमाले नेताहरुले कांग्रेसको अभिव्यक्तिप्रति आपत्ति मात्रै जनाएन, लिखित रुपमा माफी माग्नुपर्ने बताएको छ ।
बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले एमाले र एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताएका छन्। छलफलपछि उनले कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताए।
उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ। एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’ उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए।

आइतवार कांग्रेसको विरोध प्रदर्शनमा ओलीविरुद्ध नाराबाजी गरिएको थियो भने महामन्त्री विश्वप्रकाश शर्मालगायतले गिरीवन्धु टी स्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाएका थिए ।शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए । कांग्रेस कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन् ? गिरिबन्धु जहाँ छन्’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया