टीओआर सम्बन्धि बालुवाटार बैठकमा भएन सहमति, साँझ पुनः बस्ने

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश (टीओआर)टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच प्रधानमन्त्रीको निवास बालुवाटामा भएको छलफल आज पनि सहमति जुट्न सकेन। सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने बताएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड,  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार सहभागी थिए।

नेकपा  (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल, कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।

बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।बालुवाटार बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन। थप छलफलका लागि हामीले १ बजे बस्दैछौं। त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ।’
  ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने। 
छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ । ‘ गृहमन्त्री रवि लामिछानेको नाम नै देखेर जाँदा उपयुक्त हुन्छ । नाम राखेर जानेमा आपत्ति नहुनुपर्ने हो । नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन छ,’ उनले भने, ‘नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै छ ।’

प्रधानमन्त्रीले आज साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास दिलाएको उनले बताए । योसँगै कांग्रेसले आज दिउँसो १ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको परियारले बताए । ‘  
‘ 

प्रतिक्रिया