मुग्लिन नारायणगढ सडकखण्डमा चारवटा गाडी ठोक्किए, दुई जनाको मृत्यु

चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा गएराति भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । ना ३ ख ७९१५ नं. को ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि अन्दाजी १६÷१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो  प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सबै २१ जना घाइतेहरूको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चितवन जिल्ला प्रहरीका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका हुन् । घाइतेमध्ये इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा १८ जना र नयाँ मेडिकल कलेज भरतपुरमा ३ जनाको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।। 

प्रतिक्रिया