एसइईको नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० एसइई)को नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने तयारी गरेको छ । उत्तर पुस्तिका परीक्षणको काम चार दिन भित्र सकिने भएकोले अब नम्बर इन्ट्री गर्न मात्रै बाँकी रहेको बताइएको छ । विद्यार्थीको उत्तर पुस्तिका ५२ वटा परीक्षण केन्द्रमा पठाइएकोमा ३१ वटामा परीक्षण सकिएर नम्बर समेत आइसकेको बोर्डले जनाएको छ । असार १४ गतेसम्म नतिजा प्रकाशन गर्ने र विद्यार्थीको ग्रेड सिट साउनको पहिलो साता भित्रै विद्यालयमा पठाउने योजनाको साथ काम भइरहेको कार्यालयले काम गरिरहेको छ । अघिल्लो वर्ष असार २४ मा नतिजा सार्वजनिक भएकोमा यो पटक दुई साता अघि सार्वजनिक गर्ने गरी काम भइरहेको हो । कार्यालयले यसपालि एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरेर निकाल्दै छ । सैद्धान्तिक तर्फको ७५ अंकको परीक्षामा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अथार्त २७ अंक ल्याउनै पर्ने हुन्छ । विद्यार्थीले २७ अंक ल्याउन नसकेकोमा विद्यार्थीले पाउने ग्रेडसीटमा एनजी उल्लेख हुनेछ । एनजी उल्लेख हुनु भनेको विगतको श्रेणी छुट्टाएर गर्ने नतिजामा फेल भए सरह रहेको बोर्डले जनाएको छ । चैत १५ देखि सुरु भएको परीक्षामा नियमित तर्फ ४ लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । त्यस्तै २१ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् ।

काभ्रे सडक 

प्रतिक्रिया