सहकारी ठगीमा संसदीय छानविनमा सहमति जुटाउन दलहरु छलफलमा

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउने प्रयासमा शीर्ष नेताहरुको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्ने तयारी छ । दलहरुले संसदीय समितिको कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलस्तरमा कार्यादेशमा सहमति नजुटेपछि शीर्ष तहमा छलफल हुन लागेको हो । कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन । यद्यपि कार्यादेशमा दुवै पक्ष सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । शनिबार पनि कार्यदल स्तरमा छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए । बैठकमा कांग्रेसले सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्ने अडान यथावत राखेको छ । सोही अनुसार आज पनि सहमतिको प्रयास जारी राख्न शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।। 
 

प्रतिक्रिया