आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान

सरकारले आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ । पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई सङ्क्रमित बनाउने गर्छ । पोलियोको भाइरस घाँटी र आन्द्रामा हुन्छ । सङ्क्रमित एक व्यक्तिबाट अर्कोमा पनि फैलिन्छ । रोग लागिसकेपछि उपचार छैन, त्यसैले पोलियो रोगविरुद्धको खोप लगाउनु आवश्यक रहेको चिकित्सकको भनाइ छ । नेपालमा सन् २०१० यता पोलियो रोग देखिएको छैन । 
 

प्रतिक्रिया