कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको जनाइएको छ। चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत ब्रिफिङ गराएका छन् । अनिलले सिरोहियाको स्वास्थ्य समस्यालाई हेर्दै आएका छन् । मंगलबार कान्तिपुर कार्यालयबाट  गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो । सिरोहिया शुक्रबार अपराह्नसम्म सामान्य अवस्थामा रहे पनि हिरासतमा स्वास्थ्य प्रतिकूलता भोगेका थिए । उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । तर प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दैआएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् । धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको छ ।

प्रतिक्रिया