टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । नेपालले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन खर्चेका थिए । हरिकेन्सबाट लाहिरु मिलान्थाले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । अली शेख २३, स्मित पटेल १९ आर्कषित गोमेल १८ रनमा आउट भए । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक÷एक विकेट लिए । त्यसअघि प्रेरी भ्यू कम्पलेक्स ह्युस्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका तेस्रो नम्बरका ब्याटर अनिल कुमार साहले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । नेपालको सुरुवात भने राम्रो हुन थिएन । ओपनर कुशल भुर्तेल ६ बलमा १ रन तथा आसिफ शेख ६ बलमा ४ रनमा आउट भएका थिए । दुवै ओपनर क्याच आउट हुँदा नेपाल २.२ ओभरमा ९÷२ को अवस्थामा थियो । त्यसपछि अनिल र रोहित पौडेलले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । नेपालले दोस्रो खेल शनिबार हरिकेन्ससँग नै खेल्नेछ ।

प्रतिक्रिया