स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन् । शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यक्रमा उनले यस्तो बताएका हुन् । उनले न्यापालिका र सञ्चार जगत लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भहरु भएको बताए । उनले न्यापालिका र सञ्चार जगतको अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे । उनले  स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न नसक्ने बताए । उनले नागरिकको अपेक्षाअनुरुपको नतिजामुखी कार्य सम्पादन तथा विश्वस्त हुनसक्ने वातावरणको निर्माण अहिलेको प्रमुख आवश्यकता र चुनौति भएको बताए । 
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताए । उनले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै व्यवसायीक वा विशेष रिपोर्टिङ बनाउन  बाँकी रहेको बताए । न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताए । उनले कतिपय न्यायाधीशहरु पनि मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको भन्दै मिडिया ट्रायल प्रभावमा न्यायाधीशहरु बहकिनु नहुने बताए । 
न्यायाधीश फुँयालले अन्य देशमा लिगल रिपोर्टिङको अवस्थाका बारेमा पनि छलफल गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया