संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा

सत्ता र प्रतिपक्ष आ–आफ्नै अडानमा

सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि जारी छ । बिहीबार निष्कर्षविहीन भएको बैठक आज पुनः सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको हो । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।  संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन । सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर उनी जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् । प्रतिनिधि सभा बैठक अघि सहमति प्रयासका लागि बैठक बोलाइएको हो ।। 
 

प्रतिक्रिया