अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै

गाजाको रफाहमा आक्रमण रोक्न आदेश दिन माग

अन्तर्राष्ट्रिय न्यायालय आईसीजेले इजरायललाई रफाहमा आक्रमण रोक्न आदेश दिन माग गर्दै दक्षिण अफ्रिकाले गरेको आग्रहमाथि आज आफ्नो फैसला सुनाउने भएको छ । इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिका यसै वर्षको जनवरीमा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयसम्म पुगेको हो । गत हप्ता, दक्षिण अफ्रिकाले गाजा र विशेष गरी रफाहमा प्यालेस्टिनी जनताको अस्तित्व सुनिश्चित गर्न आवश्यक भएको बताएको थियो । अन्तर्राष्ट्रिय न्यायालयका आदेशलाई इजरायलले यसअघि पनि बेवास्ता गर्दै आएकाले यस पटकको आदेश पालना गर्नेमा आशंका छ । राष्ट्रसंघका शीर्ष कानुनी निकायसँग आफ्नो निर्णयहरू लागूगर्ने कुनै तरिका नभएकाले निर्णयलाई बेवास्ता गर्दै आएको हो । बिहीबारमात्रै मध्य गाजामा रहेको जनकल्याण मन्त्रालयको एक स्टोरमा इजरायली सेनाले गोलाबारी गर्दा १२ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् । गत वर्षको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अचानक आक्रमण गरी १२ सय जनाको मृत्यु भएको थियो । हमासले २ सय ५० भन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ । आक्रमणमा अहिलेसम्म ३५ हजारभन्दा बढी प्यालेष्टिनीको मृत्यु भैसकेको छ ।
 

प्रतिक्रिया