बनेपामा चण्डेश्वरी जात्रा’ सुरु

काभ्रेपलाञ्चोकको बनेपाका स्थानीयवासीहरुले हर्षोउल्लासकासाथ मनाउने ‘चण्डेश्वरी जात्रा’ सुरु भएको छ । हरेक वर्ष चण्डि पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा बनेपावासीले चण्डेश्वरी जात्रालाई ठूलो महत्वका साथ मनाउने गर्दछन् । करिब छ सय वर्ष पहिले राजा आनन्द देवको पालामा चण्डेश्वरी जात्रा सुरु भएको पाइन्छ । परापूर्व कालमा चण्डासुर नामको दैत्यले तेत्तिसकोटी देवताका साथै बनेपा नगरवासीहरुलाई धेरै दुःख दिएकोले उनीहरुको दुःखबाट मुक्ति दिनका लागि रक्तचन्दन बनबाट चण्डेश्वरी माई प्रकट भई सो दैत्यको नाश गरेको खुसीयालीमा बनेपा नगरवासीहरुले हरेक वर्ष चण्डेश्वरी जात्रा मनाउने गर्दछन् । जात्राको पहिलो दिन तकः पुजा अर्थात् चण्डेश्वरीसहित विभिन्न देवीदेवताको पुजा गरी चण्डेश्वरीमा १२ वटा काला बोकाको बलि दिइएको थियो । जात्राको दोस्रो दिन आज काठमाडौंको हनुमानढोकाबाट कानफुट्टा जोगी आएपछि बनेपाको तीन धारामा एक भेडा र एक कुखुराको भाले काटेर पुजाआजा गरि देवता राख्न रथलाई चण्डेश्वरी मन्दिरमा लैजाने प्रचलन छ । देवी राख्नका लागि लैजान लागिएको रथ बोक्नका लागि युवाहरुको ठुलो भिड लाग्ने गर्दछ । जात्राको तेस्रो दिन देवी राख्नका लागि चण्डेश्वरी मन्दिर पुर्याइएको रथमा देवता राखी बजारतर्फ ल्याइने गरिन्छ । त्यसपछि कलदान गरि देवता राखेको रथलाई गणेशस्थानबाट चण्डेश्वरीसम्म पुर्याइन्छ । भाले बास्नुभन्दा अगावै सो रथलाई चण्डेश्वरी पुर्याउने चलन छ । देवमाला बंशावलीमा उल्लेख भएअनुसार सत्य युगको प्रथम पागमा नै चण्डेश्वरी जात्रा उल्लेख भएको पाइन्छ । 
 

प्रतिक्रिया