आज २५६८ औँ बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो दिवस मनाउन थालिएको हो । बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन । 
 

प्रतिक्रिया