अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ। आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपले आफूलाई भिसा नदिएको उल्लेख गरेका छन्।
'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो', लामिछानेले फेसबुकमा भनेका छन्, 'दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।'

यसअघि उच्च अदालत पाटन लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको थियो।  त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। हाल नेपाली टोली विश्वकपको तयारीका लागि अमेरिकामा छ।  

यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो । 

प्रतिक्रिया